झापा । राप्रपा सांसद राजेन्द्र लिङदेनले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको काँकडभिट्टा-इनरूवा खण्डमा पर्ने जग्गाहरु रोक्का राखिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद लिङ्देनले रेलमार्गका लागि आवश्यक पर्ने ६ सय ५ हेक्टर जमिनका लागि ६०५ हेक्टर मात्र नभई सम्बन्धित कित्ताका सबै जग्गाहरुसमेत रोक्का गरिएको भन्दै आपत्ति जनाए।
उनले रेलमार्ग निर्माण कार्य अगाडि नबढेको तर नागरिकका जग्गा रोक्का राखिएको भन्दै फुकुवा गर्न मागसमेत गरेका छन्।
‘काम कुनै अगाडि बढेको छैन। तर त्यसको मुआब्जाका लागि मात्रै २५ अर्ब आवश्यकता पर्ने भनिन्छ तर रकमचैं १ अर्ब मात्र व्यवस्था गरिएको छ। यहि हिसाबले हो भने मुआब्जा दिँदै जाँदा २५ वर्ष लाग्ने देखिन्छ। यो काम नहुने प्रयोजनका लागि जग्गा रोक्का राख्नु भएन। जग्गा फुकुवा गर्दिनुपर्यो भन्ने माग गर्दछु,’ लिङ्देनले भने।
प्रतिनिधि सभाको आजकै बैठकमा सांसद महिन्द्रकुमारी लिम्बुले समेत जग्गा फुकुवाका लागि निर्देशन दिन सरकारसँग माग गरेकी छन्।