काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रमा स्थानीयको प्रदर्शनमा गोली चलेको बिषयमा छानविन गरिने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले प्रदर्शनमा प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको र केही घाइते भएको भन्दै उक्त घटनाको छानविन हुने बताए ।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए । मन्त्री खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएकाले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।
घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको उनले जानकारी दिए । सो समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।
बैठकमा सांसदहरुले बर्दियामा गृहमन्त्री, सिडियोले निर्देशन नदिदा पनि गोली चलाउनेलाई कारवाही हुनुपर्ने बताएका थिए ।