काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने तयारी गरेको छ ।
आइतबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवालय बैठकमा सरकारमा पार्टीबाट मन्त्रीहरुको हेरफेरका बारेमा छलफल भएको र यसको अधिकार पार्टी अध्यक्ष माधव कुमार नेपाललाई रहेको उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।
उनले ६ महिनाका लागि सरकारमा पठाएकाले मन्त्री हेरफेर गर्ने बिषयमा छलफल भएको बताए । पार्टीबाट मन्त्री भएकाहरु र शीर्ष नेताहरुबीच छलफल हुने र आवश्यक निष्कर्षमा पुगिने उनको भनाइ छ ।
उपमहासचिव तुलाधरले मन्त्री फेरबदल गर्ने निर्णय सवैले मान्नुपर्ने समेत बताए । त्यस्तै उनले बाम एकता राम्रै कुरा भएको भए पनि इमान्दारी नभए राम्रो नहुने पुष्टि भइसकेको जिकिर गरे ।
तुलाधरले गठबन्धन भत्काएर मुलुकलाई बबार्दी तर्फ लान नहुने बताए । सचिवालय बैठकले पार्टीका सबै कमिटीहरुलाई प्राकृतिक बिपदको पूर्व तयारीका लागि परिचालन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।