काठमाडौं। उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीबीच एकीकरणको प्रयास सुरु भएको छ।
यादवले आफूनिकटका नेताहरुमार्फत ठाकुरसम्म मिलेर अघि जान प्रस्तावसमेत पठाइसकेका छन्।
सरकारमा रहेको जसपाले स्थानीय तहको निर्वााचनबाट अपेक्षित लाभ उठाउन नसकेपछि लोसपासँग पुनः एकीकरणको प्रयास थालेको हो।
ट्रयाक-टु ‘बालकोट‘
कांग्रेस नेतृत्वको गठबन्धन सरकारबाट आफूहरुलाई खासै लाभ नभएको जसपाको नेष्कर्ष छ। स्थानीय निर्वाचनको परिणामलाई पनि उनीहरुले आफ्नो पक्षमा पाउन सकेनन्।
यता ठाकुर पक्षले पनि मधेशका मागहरु पूरा गर्न दबाब दिएपनि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कुनै पहल र चासो नदिएको भन्दै रुष्ट देखिएको छ। त्यसैले उनीहरुले नेकपा एमालेसँग हात बढाउन चाहेका छन्। जसका लागि यादव र ठाकुर दुवै बालकोट पुगिसकेका छन्।
श्रोतका अनुसार जसपा र लोसपा मिलेर एक भए सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको छ। त्यसो भएमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुपर्ने हुन्छ।
अहिले माओवादी केन्द्र र एकीकृत समााजवादी पनि देउवासँग चिँडिएका छन्। यही अवस्थामाा कुनै एक दलले समर्थन फिर्ता लिए देउवालाई विश्वासको मत पाउन कठिन हुने यादव-ठाकुर निष्कर्ष छ। यस्तो अवस्थामा उनीहरुले एमालेको सरकार बनाउन सहयोग गर्ने र आफूहरुका माग पूरा गराउने सोच बनाएका छन्।
यद्यपि यसमा ओलीले कुनै ठोस् जवाफ भने दिइनसकेको ठाकुरनिकट एक नेताले बताए।