काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सीमित स्रोत, साधनको बीचमा पनि स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री देउवाले छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त नहुने बताएका हुन्।
उनले सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नभएको जिकिर गरे । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत रहेको बताए।
त्यस्तै उनले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्र नेपालकै भएकोमा कुनै दुविधा नरहेको धारणा पनि राखे । सीमा सम्बन्धी समस्या वार्ता र सम्वादका माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले सार्वजनिक संस्थान खारेज वा निजीकरण गर्ने सोच नभएको स्पष्ट पारे ।
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धमा सर्वोच्च अदालतको फैसला अध्ययन गरी आवश्यक निणर्य लिइने समेत बताए ।