काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्।
शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै दाहालले कुनै पनि दलको सहयोगबिना प्रधानमन्त्री भएर देखाउन ओलीलाई चुनौती दिएका हुन्।
यसअघिका दुवै कार्यकाल माओवादीकै वैशाखी टेकेर प्रधानमन्त्री भएकाे भन्दै दाहालले एक्लै प्रधानमन्त्री भएर देखाए ओलीलाई मान्ने बताए।
‘हाम्रो प्रतिपक्षी दलका नेता जसलाई मैले नै सहयोग गरेर माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो उहाँ। एक्लै भएको छु भन्ने ठान्नुभएको छ भने त्यो भ्रम हटाइदिनुस्,’ उनले अगाडि भने,‘तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन। पहिलोचोटि पनि तपाईंको भाषामा माओवादी केन्द्रको वैशाखी टेकेर हुनुभएको हो। दोस्रो पटक हाम्रो पनि भोट लिएर हुनुभएको हो।’
अबको चुनावबाट एक्लै प्रधानमन्त्री भएर देखाउन भन्दै उले भने,’ एक्लै प्रधानमन्त्री भएर देखाउनुस् तपाईंलाई मानिन्छ। तपाईं एमालेको प्रधानमन्त्री हुनुहोला।’