काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्।
विजयी भएको घोषणापछि बोल्दै नवनिर्वाचित मेयर शाहले काठमाडौंलाई अबको ५ वर्षमा विश्वकै सुन्दर शहर बनाउने घोषणा गरे। उनले काठमाडौंलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धतासमेत जनाए। नवनिर्वाचित मेयर साहले विजयलाई नयाँ कार्यको थालनीको रुपमा लिएको उद्घोष गरे। उनले अबको ५ वर्ष आफ्ना कार्ययोजनालाई पूर्ण गर्ने जिकिर गरे।
‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’
उनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताएका छन्।
‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उनले भने,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।’