काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर्घातले चुनावमा पराजय व्यहोर्नुपरेको गुनासो गरेका छन्।
चुनावी परिणामबारे अहिलेसम्म सार्वजनिक रुपमा खासै प्रतिक्रिया नजनाएका उनले आज संसदीय दलको बैठकमा अन्तर्घातले हारिएको बताएका हुन् ।
आज प्रतिनिधिसभाको बैठक बस्नुअघि संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘धेरै ठाउँमा हामी हाम्रै साथीहरुको अन्तर्घातबाट हारेका छौँ । अब यस विषयमा गम्भीर र बृहतरुपमा छलफल गर्नुपर्ने भएको छ । कहाँबाट सिके, कसरी सिके यो गम्भीर छ ।’
चार वटा महानगरमा उपमेयर जित्न सक्ने एमालेले एउटा पनि मेयर जित्न नसक्नुको मुख्य कारण पार्टीभित्रैको अन्तर्घातको प्रमुख कारण रहेको उनको ठोकुवा छ ।
‘काँग्रेस, माओवादी र समाजवादीभित्र अन्तर्घात भएन तर हामी अन्तर्घातले हारेका हौं । अब समीक्षा गर्न जरुरी छ’, सांसदहरुका सामु ओलीले भने ।
सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरि चुनावको नतिजा आफ्नो पक्षमा पारेको पुरानो आरोप आज पनि उनले दोहोर्याए।