काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् ।
आइतबार बिहान ५ बजेसम्म साहले कांग्रेस र एमालेका उम्मेदवारलाई १७ हजारभन्दा बढीको मतान्तरले पछाडि पारेका छन् ।
त्यस्तै, मतगणनाका क्रममा लामो समय दोस्रो स्थानमा अग्रता लिइरहेका एमालेका उम्मेदवार केशव स्थापितलाई कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले उछिनेकी छन् ।
काठमाडौं महानगरमा आइतबार बिहानसम्म १ लाख ६ हजार ३ सय ५२ मत गणनाको अपडेट सार्वजनिक हुँदा वालेन्द्र साहले ३८ हजार ३ सय ३३ मत ल्याएका छन् । दोस्रो स्थानमा उक्लिएकी कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत ल्याएकी छन् । तेस्रो स्थानमा झरेका एमालेका केशव स्थापितले भने २१ हजार ८ मत ल्याएका छन् ।
सिर्जना सिंहले केशव स्थापितलाई २ सय ९१ को मतान्तरले पछि पारेकी छन् ।
वालेन्द्रले एमालेसँग १७ हजार ३ सय २५ को मतान्तर बनाएका छन् भने कांग्रेससँग १७ हजार ३४ को मतान्तर बनाएका छन् ।
काठमाडौं महानगरपालिकाको ८४ हजारभन्दा बढी मत गणना गर्न बाँकी छ ।