झापा । नेपाली कांग्रेस र नेकपा एमालेसम्मिलित गठबन्धनले झापामा राप्रपाको गढ मानिएको कचनकवल गाउँपालिकामा विजय हासिल गरेको छ।
कांग्रेस-एमालेको गठबन्धनले राप्रपालाई एक्ल्याएर चुनावमा होमिएका थिए।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई निर्वाचित भएका छन्।
गाउँपालिकाको ७ वटा वडामध्ये ६ वटामा प्यानलसहित कांग्रेसले अध्यक्ष जितेको छ।
स्थानीय तहमा कांग्रेससंग गठबन्धन बनाएको नेकपा एमालेले एउटा वडासहित गाउँपालिका उपाध्यक्ष जितेको छ।
११ हजार ४७७ मत ल्याई कांग्रेसका राजवंशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिष्पर्धी निवर्तमान अध्यक्ष राप्रपाका अन्जरा आलमले मात्र ६ हजार ६६७ मत ल्याए।
उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार १४३ मतले निर्वाचित भएका छन्। उनका प्रतिष्पर्धी निवर्तमान उपाध्यक्ष राप्रपाका निमसरी राजवंशीले मात्र ६ हजार ८०१ मत प्राप्त गरिन्।