काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । दिउँसो ४ बजे बस्ने बैठकमा पाँचवटा सम्भावित कार्यसूची रहेका छन् ।
राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा सभामुख अग्नि सापकोटाले पढेर सुनाउने कार्यतालिका छ ।
सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र दुईवटा अध्यादेश पेश गर्ने कार्यतालिका छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बनधी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्नेछन् ।
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पनि पेश गर्ने कार्यतालिका छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।