काठमाडौं । नेकपा एमालेले निर्वाचनमा जसरी पनि जित्न सत्ता गठबन्धनले धाँधलीको सहारा लिएको आरोप लगाएको छ।
मतगणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी रहेको बेला एमालेले सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको प्रतिकृया दिएको हो।
आइतवार जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ। यसरी सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ। निर्वाचन आयोगको ध्यानाकर्षणका बीच गठबन्धन दलका नेताहरुको निरन्तर आचारसंहिता विपरीत कार्यप्रति एमाले खेद व्यक्त गर्दछ।’
निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र आफ्नो विपक्षमा परिचालित भएको एमालको आरोप छ। मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको विज्ञप्तिमा आरोप लगाइएको छ।