झापा । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसकै नेता कृष्णप्रसाद सिटौला, नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाकै विभिन्न मतदान केन्द्रहरूबाट मतदान गर्दैछन्।
नेपाली कांग्रेसका महामन्त्री शर्माले मेचीनगरको एउटा केन्द्रबाट मतदान गर्नेछन्।
मेचीनगरको खुट्टीडाँगीमा रहेको कविशिरोमणि माध्यमिक विद्यालयमा उनले मतदान गर्ने नेपाली कांग्रेस झापाले जनाएको छ।
नेपाली कांग्रेसकै अर्का नेता कृष्णप्रसाद सिटौलाले भद्रपुरमा रहेको कलबलगुडी प्रशिक्षणमा रहेको मतदान केन्द्रमा मतदान गर्ने जनाइएको छ।
त्यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री अग्नि खरेलले झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्दैछन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दीबारी गाउँपालिका वार्ड नं १ को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्ने जनाइएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने मतदाता नामवली भक्तपुरमा सारेको हुनाले त्यतै मतदान गर्ने जनाइएको छ।