झापा । राप्रपासहितको सत्ता गठबन्धनका तर्फबाट झापाको दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार अस्वस्थ भएर अस्पताल भर्ना भएका राप्रपाका नेता राम थापा अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।
राप्रपा नेता थापा बिहीबार साँझ उनको घर दमक आउने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
उनले भने, ‘अहिले नै शल्यक्रिया गर्नु नपर्ने परिस्थिति रहेपछि उहाँ आज डिस्चार्ज भएर घर आउँदै हुनुहुन्छ।’
उनी अकास्मात अस्वस्थ भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। उनी बिहीबारदेखि प्रतिष्ठानमा उपचाररत थिए।
राप्रपाका पुराना नेता थापालाई विगतदेखि नै मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए।
उनले भने, ‘चुनाव प्रचारका क्रममा खानपिन समयमा भएन। धपेढी धेरै भयो। त्यसैले समस्या आएको हो।’
अस्पतालले थापामा एपेन्डिसाइटिसको समस्या रहेको जानकारी गराएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।