काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्न दलका नेताहरु यतिबेला जिल्ला जिल्ला जाँदैछन्।
केही नेता पुगिसकेका छन् भने केही नेताहरु जाने क्रममा छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट मत खसाल्दै छन् । उनी मत हाल्न डडेलधुरा पुगिसकेका छन् । उनको मतदान केन्द्र गन्यापधुरा गाउँपालिकाको भुवनेश्वर माध्यामिक विद्यालय पश्या चम्साल रहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरबाट मतदान गर्ने भएका छन् । यसअघिको स्थानीय तह निर्वाचनमा पनि ओलीले भक्तपुरबाटै मतदान गरेका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान गर्न चितवन पुगेका छन् । उनले भरतपुर १४ स्थित शान्तिपुर माडीबाट मतदान गर्नेछन् ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका ७ राम्जाबाटस्थित पशुपति माध्यामिक विद्यालयबाट मतदान गर्दैछन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका ४ कुविन्डे सेतीदेवी पञ्चकन्या माविबाट मतदान गर्नेछन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गर्ने भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिका –३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट मतदान गर्दैछन्। शर्माले शुक्रबार मेचीनगरको कविशिरोमणि माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दैछन् ।