काठमाडौं । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक गरेको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत मोदीको एक दिने लुम्बिनी भ्रमणको तालिका सार्वजनिक गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी जेठ २ गते बुद्ध जयन्तीका अवसरमा नेपालको औपचारिक भ्रमणमा आउन लागेको मन्त्रालयले जनाएको छ।
लुम्बिनी आइसकेपछि मोदीले नेपालका प्रधानमन्त्री देउवासँग मायादेवी मन्दिरमा प्रार्थनामा भाग लिने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माणको लागि शिलान्यास गर्ने र पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलमा हुने बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा मोदीसँग परराष्ट्रमन्त्री डा. नारायण खड़काले शिष्टाचार भेट गर्नेछन्।
भ्रमणका क्रममा लुम्बिनीमै दुबै प्रधानमन्त्रीबीच नेपाल-भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता र विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसहित भ्रमण प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशबीच द्विपक्षीय सम्बन्ध र सदियौ पुरानो सामाजिक-सांस्कृतिक बन्धनहरुलाई अझै मजबुत बनाउन योगदान गर्ने विश्वास परराष्ट्र मन्त्रालयले लिएको छ।