काठमाडौं। मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई स्पष्टीकरण सोधेको छ।
गुरुङले मौन अवधिको समयमा आफ्नो सामाजिक सञ्जालबाट उम्मेदवारको पक्षमा पोष्ट गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
आयोगले गुरुङलाई सोधेको प्रश्नमा भनिएको छ, ‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलङ्घन भएकाले किन कारबाही गर्नु नपर्ने हो?’ भन्दै स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ (घ) बमोजिम मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने व्यवस्था छ ।