काठमाडौं। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले देशका ८३४ वटा अप्रेसन बेस स्थापना गरेको छ।
गण र गुल्मबाट ‘कभर’ गर्न नसकिने स्थानमा सेनाले अस्थायी बेस स्थापना गरेको हो। सुरक्षाको संवेदनशीलता र आवश्यकतालाई मध्यनजर गर्दै थप अप्रेसन बेस पनि स्थापना गरिने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
सरकारले मतदानको दिन हरेक मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी तैनाथ रहन निर्देशन दिएपछि सेनाले त्यही अनुसारको तयारी गरेको हो।
यस्तै सेनाले ५१ वटा कारागारको सुरक्षा जिम्मा पनि लिएको छ। कैदीबन्दी ल्याउने लैजाने काममा मात्रै प्रहरी राखेर बाँकी सेना खटाइएको छ। यस्तै रेडियो नेपाल प्रसारण केन्द्र, संसद भवन सहित १७ वटा महत्वपूर्ण स्थानको सुरक्षामा पनि सेना खटिएको छ।
निर्वाचनमा ७१ हजार नेपाली सेना खटिने भएको छ। नेपाल प्रहरी ६१ हजार ८३१ जना, एक लाख म्यादी, सशस्त्र प्रहरी २३ हजार ५३२ जना, ३ हजार गुप्तचर पनि खटिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालनका लागि जेठ ३० गते आदेश जारी गरेकी थिइन्। त्यसको भोलिपल्ट वैशाख १ गतेबाट सेना परिचालन गरिएको प्रवक्ता सिलवालले बताए।