काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
आयोगले सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको उल्लेख गर्दै यस्ता काम रोक्ने चेतावनी दिएको हो।
यस्ता काम नरोके निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने पनि आयोगले बताएको छ।
आयोगले यस्ता सामग्री सामाजिक सञ्जालमा फैलाउन संलग्नलाई निर्वाचन आचारसंहिता, निर्वाचन आयोग ऐन र निर्वाचन कसुर सजाय ऐनसहित प्रचलित कानुन अनुसार कानुनी कारबाहीको चेतावनी समेत दिएको छ।
आचारसंहिता उल्लङ्घनमा निर्वाचन आयोग ऐनले एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारबाट कसुर भएको अवस्थामा उम्मेदवारी खारेजसम्मको सजाय हुनसक्ने व्यवस्था छ।
आयोगका प्रवक्ता पौडेलले नाम लिएको निर्वाचन कसुर सजाय ऐनले उम्मेदवारको चरित्र हत्यामा संलग्न माथि एक वर्षको कैदसम्म सजाय हुनसक्ने व्यवस्था गरेको छ।