काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ताको मनोनयन गराएका उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक धम्की, धरपकड र प्रलोभन देखाएकोमा निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दे मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानून र लोकतन्त्र माथि आघात पु¥याउने भएकोले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ’ आयोगले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को स्वीकृत निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता, दर्ता भएका उम्मेदवारको सूचि प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी र मनोनयनपत्र एवम् उजुरी उपर जाँचबुझ गरी मनोनयन भएको उम्मेदवारको नामावली वैशाख १५ गते निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित गरिसकेको छ ।
आज भने उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम रहेको सन्दर्भमा कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरी उम्मेदवारको नामावली प्रकाशित भएपछि आफूलाई उम्मेदवार फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने व्यवस्था छ ।
त्यसैगरी कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिने गरी लिखित रुपमा लेखी पठाएमा पनि उम्मेदवारको नाम फिर्ता हुने स्पष्ट भएको हुँदा सो बाहेकको अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने आयोगले जनाएको छ ।