काठमाडौँ । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज (शुक्रबार) जारी गरेकाे विज्ञप्ति जारी गरी यस्ताे जानकारी दिएका हुन्।
उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय भूमिका निर्वाह गर्न पनि अनुरोध गरेका छन्।
तोकिएको समयमा उम्मेदवारी फिर्ता नगरिए विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टी सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने चेतावनी पनि मुख्य सचिव पौडेलले दिए ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पनि विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका थिए।
Facebook Comments Box