काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिन आफ्ना नेता तथा कार्यकर्तालाई अपील गरेका छन्।
बिहीबार देउवाले अपील जारी गर्दै गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गरेका छन्।
उनले भनेका छन्, “देशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ-आफुले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपील गर्दछु।”
कतिपय योग्य व्यक्तिले टिकट नपाएको उनले चिन्ता जनाएका छन्।
“एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु,” देउवाले भनेका छन्, “तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपील गर्दछु।”