काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइारालाले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा समानरुपले न्याय नभएको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्।
बुधबार वक्तव्य जारी गर्दै कोइरालाले भनेका छन्, ‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न सक्नुभएन ।’
उनले जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठहरु नै पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेको बताए । ‘कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ । ती साथीहरुलाई कांग्रेसको मुल प्रबाहमा फर्कन म आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन् ।’
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार मात्र कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ललाई पार्टीबाट निस्काशन गरेका थिए । ‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन् । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन् । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ,’ कोइरालाले भनेका छन्।