काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको कुनै राजनीतिक आधार नभएको आरोप लगाएका छन्।
नेकपा एमालेका तत्कालीन अध्यक्ष एवं पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको २३ औ स्मृति दिवसका अवसरमा मंगलबार सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन्।
अधिकारी स्मृति दिवसका अवसरमा ललितपुरको सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा रहेको स्वर्गीय अधिकारीको सालिकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेता तथा कार्यकर्ताहरूले माल्यार्पण गरेका छन्।
एमाले अध्यक्ष ओलीले आफ्ना विपक्षी दलहरूसँग विकासका कुनै ठोस एजेण्डा नभएकोले नै एमाले नेतृत्वको सरकारले गरेका विकासको विरोध गरिरहेको बताए।
ओलीले सत्ता गठबन्धनका दलहरूले जारी गरेको चुनावी घोषणा पत्र गालीको पुलिन्दा मात्र भएको पनि आरोप लगाए।
२०५६ साल वैशाख १३ गते चुनावी प्रचारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएर अधिकारीको निधन भएको थियो।