काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमाले नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको दाबी गरेको छ ।
स्थानीय तह निर्वाचनका लागि कांग्रेसले जारी गरेको घोषणापत्रमा कांग्रेसले एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भएको व्याख्या गरेको हो ।
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कांग्रेस सभापति देउवा नेतृत्वको सरकारलाई परमादेश सरकार भन्दै टिप्पणी गर्ने गरेका छन् ।
‘नेकपा एमालेका अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन व्यंग्य र कटाक्ष गर्दै आउनुभएको छ । तर एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थानीय समिति सदस्य घनश्याम भूषाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुन:स्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानुभएको थियो,’ कांग्रेसले भनेको छ, ‘एमाले स्वयं र नेकपा माओवादी केन्द्समेत अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन् ।’
कांग्रेसले अघि सोधेको छ, ‘अदालतको आदेशबाट जन्मिएको पार्टी भनेर एमालेको वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनुहोला ?’
कांग्रेसले संवैधानिक सर्वोच्चता, सर्वौच्च अदालत र विधिको शासनमा विश्वास भने त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय नहुने भनेको छ ।