काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयनपत्र दर्ताको कार्यतालिका तोकेको छ ।
यही वैशाख ३० गते हुने निर्वाचनका लागि उमेदवारहरूको आज र भालि मनोनयनपत्र दर्ता गर्नु पर्नेछ ।
बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।
दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउन आयोगले आग्रह गरेको छ ।
मनोनयनपत्र दर्ता भएको उमेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेद्वारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यतालिका छ ।
वैशाख १५ गते मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।