झापा । स्थानीय निर्वाचनमा उम्मेदवारको भागवन्डा नमिलेपछि झापामा गठबन्धनबीचको सहमति टुटेको छ । गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ।
नेपाली कांग्रेसका तर्फबाट कार्यदलमा रहेका कृष्ण हुमागाई अलि बढी अपमानजनक रुपमा प्रस्तुत भएपछि सहमति नहुने देखेर आफूहरु गठबन्धनबाट बाहिरिएको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मीले बताए ।
उनले अस्ति गरिएको सहमतिभन्दा पछि हटेर आफूहरुलाई अपमान गर्न खोजिएको बताए ।आफूहरुले ४ वटा उपप्रमुख मागेकोमा कांग्रेस र माओवादीले मुश्किलले एउटा उपप्रमुख र ४ वटा वडाध्यक्ष मात्र दिन खोजेपछि चित्त नबुझेर आफूहरु छोडेर हिडेको उनले बताए ।
गठबन्धन छोडेको कुरा औपचारिक रुपमा घोषणा नगरेपनि कार्यदलका अरु सदस्यहरुलाई आफूहरुले भनेर हिडेको उनले जानकारी दिए । गठबन्धनमा सहमति नभएपछि नेकपा समाजवादीले १५ पालिकामा उम्मेदवारी दिने तयारी गरेको प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले बताए ।