काठमाडौं । सत्ता गठबन्धनले आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएसँगै नेपालीकाँग्रेस सहितका दलमा चर्को असन्तुष्टि देखिएको छ । तीन दिनयता लगातार छलफलमा जुटेका सत्ता गठबन्धनका दलहरुको बुधबार बसको बैठकले भागवण्डा टुंगो लगाएको हो ।
गठबन्धनको निर्णय अनुसार नेपाली काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर लिएको छ भने वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने भएको छ ।नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर पाएको छ भने ललितपुर महानगरपालिकामा उपमेयर उसको भागमा परेको छ ।
नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ। त्यस्तै उसले काठमाडौं महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ। त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) ले बीरगंज महानगरपालिका र विराटनगरमा उम्मेदवारी दिने गठबन्धनमा सहमति भएको छ ।
उपमहानगरमा काँग्रेसले इटहरी, धरान, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पाउने सहमति भएको छ भने माओवादीले जितपुर सिमरा र घोराहीको प्रमुख पाएको छ । एकीकृत समाजवादीले हेटौंडा पाउँदा जसपाले जनकपुर पाएको छ ।