झापा । झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले जिल्लाका २ सय ८६ मतदान स्थलमध्ये ५१ वटा अति संवेदनशील, एक सय ५३ वटा संवेदनशील र ८२ वटा सामान्य रहेको जानकारी दिएका छन् ।
उनले सुरक्षाका सम्पूर्ण संयन्त्रसँगै तीन हजारको संख्यामा जिल्लामा म्यादी प्रहरी परिचालित हुने बताए । प्रजिअ रिजालले मतदाता शिक्षा प्रभावकारी बनाउन सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन अनुगमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
निर्वाचन कार्यालयका प्रमुख नेपालले आचारसंहिताका विभिन्न पक्षबारे जानकारी गराएका थिए । झापामा दुई सय ८६ मतदान स्थलमा सात सय ५५ वटा मतदान केन्द्र रहने उनले बताए ।
नेपालका अनुसार एक हजार ६४ मतदाता बराबर एक मतदान केन्द्रको व्यवस्था गरिएको बताए । प्रजिअ रिजाल सोमबार झापाको बिर्तामोडमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा सञ्चारकर्मीसंग बोल्दै थिए।