काठमाडौं । स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसको दाबी नछाड्न सभापति शेरबहादुर देउवालाई दबाब परेको छ।
शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले भरतपुर यसपटक छाड्न हुने जिकिर गरेका हुन्। शनिबार दिउँसो आयोजित एक कार्यक्रममा पनि महामन्त्री शर्माले स्थानीय कार्यकर्ताको भावना कुल्चिएर भरतपुर यसपटक माओवादीलाई दिन नसकिने बताएका थिए।
शनिबारको बैठकले ६ महानगर र ११ उपमहानगरमा उम्मेदवार टुंगोमा पु¥याउन सकेन। बैठक अधिकांश समय भरतपुरकै विषयमा केन्द्रित भएको एक नेताले बताए।
तर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उपमेयर लिने भन्दै मेयर माओवादीलाई दिने संकेत गरे।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले भरतपुरमा तेस्रो विकल्पमा जानुपर्ने प्रस्ताव राखेका थिए।
उनले त्यहाँ कांग्रेसबाटै उम्मेदवार उठाउनुपर्ने बताउँदै यस्तो विकल्प पार्टीको हितमा हुने बताए।
२०७४ मा कांग्रेसले नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाललाई समर्थन गरेको तर यसपटक भरतपुरमा कांग्रेसबाटै उठाउनु पर्ने उनको तर्क थियो। ‘यसपटक मेयर कांग्रेसकै हुनुपर्छ,’ उनले भने, ‘माओवादीले यसपटक पनि कांग्रेसले सघाओस् भन्ने चाहन्छ, तर मेयर छोड्नु हुन्न।’
महामन्त्री शर्माले भरतपुरमा माओवादीले मेयर छाड्न नसक्ने हो भने मित्रवत प्रतिस्पर्धा गर्न सकिने भएकाले यो विकल्पमा जानुपर्ने बताए।