काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका नेता तथा कार्यकर्तालाई राजा फर्कने संभावना सकिएकाले राजाको एजेण्डा छोड्न सुझाव दिएका छन्।
सामाजिक सञ्जालमा लेख्दै थापाले राजा आउने बाटो राजाले नै बन्द गरेको दाबी गरेका हुन्।
उनले लेखेका छन्, ‘नयाँ वर्षको अवसरमा मेरो पुरानो पार्टी र साथीहरुलाई हार्दिक मंगलमय शुभकामना। राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो,वैमनस्यता छैन।तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्,मेरो शुभकामना छ। विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ।तितो लाग्ला,अब राजा फर्कने संभावना सकियो। पार्टीहरु असफल भएर राजा आउने होईन। एउटा पार्टी असफल भए अर्को आउँछ। राजा फर्कने अरुनै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए। अब असंभव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन।असंभव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई वन्धक बनाउन हुँदैन। २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन।मलाई थाहा छ,अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ। अहिले गालि गलौज र आरोपहरु खेपेर भएपनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखि दिनेछु। पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो।त्यहाँ अझै केही समय रमाई राख्नोस्।राजाको माया त लाग्छ,त्यसैले राजसंस्था प्रति मेरो सम्मान सदैव रहिरहने छ।