काठमाडाैं । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित २० राजदूत विरुद्ध उजुरी आह्वान गरेको छ ।
शुक्रबार बसेकाे संसदीय सुनुवाइ विशेष समितिले विभिन्न २० देशका लागि प्रस्तावित राजदूत विरुद्ध उजुरी आह्वान गरेको हाे । प्रस्तावित राजदूत विरुद्ध संसदीय सुनुवाइ गर्नु अघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन भनिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिनेछ । समितिमा उपस्थित नै भएर पनि उजुरी दिन सकिने व्यवस्था गरिएको सभापति कर्णले बताए ।
यसअघि चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । नियुक्ति अघि राजदूतको संसदीय सुनुवाइ हुने संवैधानिक व्यवस्था छ । सुनुवाइ समितिले सिफारिस अनुमोदन गरेपछि मात्र नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ ।