काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७९ को अवसरमा देश विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नयाँ वर्षको १ गतेलाई नेपालीहरुले मौलिक परम्पराअनुसार मनाउँदै आएको स्मरण समेत गरेका छन् ।
“नयाँ वर्ष २०७९ को यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
राजनीतिक स्थिरताको दृष्टिकोणले २०७८ साल सुखद नरहेको चर्चा गर्दै अध्यक्ष ओलीले भनेका छन्, “गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धितर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो ।” यतिखेर मुलुक आर्थिक सङ्कटउन्मुख रहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफू नेतृत्वको यसअघिको सरकारले दुरुस्त छाडेको अर्थतन्त्र अहिले भत्किएको टिप्पणी गरेका छन् ।
यो वर्ष निर्वाचनको वर्ष भएको चर्चा गर्दै अध्यक्ष ओलीले भनेका छन्, “हामीले आसन्न निर्वाचनमा कुनै कृत्रिम एजेण्डाको बैशाखी टेकीरहनु पर्दैन । विगतमा गरेका जनपक्षीय कामका विवरण हाम्रो योग्यता र क्षमताका उदाहरण हुन् ।”
ताजा जनादेश लोकतान्त्रिक विधिद्वारा सामाजिक सुव्यवस्था र विकासका लागि जनमतसंग्रह सावित हुने दावी गरेका छन् ।
अहिले पनि विभिन्न बहानामा स्थानीय तह निर्वाचन रोक्ने अलोकतान्त्रिक र असंवैधानिक दुस्प्रयास भइरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले कुनै पनि बहानामा चुनाव रोक्नु लोकतन्त्र विरोधी काम हुने बताएका छन् ।