तनहुँ । नेपाली काँग्रेसले तनहुँमा वडा तहमा उम्मेदवारी दिन चाहनेको आकाङ्क्षा बुझ्नलाई धमाधम वडा सम्मेलन गरिरहेको छ । सम्मेलनमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार बन्न चाहने धेरै पाइएको छ । डेढ दर्जनसम्मले वडाध्यक्षको उम्मेदवार बन्ने इच्छा प्रकट गरेका छन् ।
जिल्लामा सबैभन्दा धेरै व्यास नगरपालिका–११ मा काङ्ग्रेसबाट १७ जना वडाध्यक्ष बन्न चाहेका छन् । चार जना वडा सदस्यका लागि २६ जनाको आकाङ्क्षा छ । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विक र नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको वडा हो ।
वर्तमान वडाध्यक्ष, पूर्व शिक्षकदेखि उद्योगपतिसम्मले वडाध्यक्ष बन्ने चाहना प्रकट गरेको वडा सभापति देवबहादुर थापाले बताए । ‘पुराना नेताले बढी चाहना देखाउनु भएको छ । केही युवा पनि छन् वडाध्यक्ष बन्ने होडमा’, उनले भने । सहमति गरेर आकाङ्क्षीको सङ्ख्या घटाउने प्रयासमा रहेको उनले बताए ।
वडाध्यक्ष बन्न चाहनेको लर्को शुक्लागण्डकी नगरपालिका–८ मा बढी नै छ । काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको वडामा वडाध्यक्ष बन्नलाई एक दर्जन आकाङ्क्षी छन् । वर्तमान वडाध्यक्षसँगै एक दर्जनले आकाङ्क्षा देखाएको वडा सभापति सुरेन्द्र सेन ठकुरीले बताए । उनका अनुसार दुई जना खुलातर्फको वडा सदस्यमा १७ जनाले आकाङ्क्षा देखाएका छन् ।
खुला महिला सदस्यमा सात जना र दलित महिलामा पाँच जना आकाङ्क्षी रहेको उनले जानकारी दिए । ‘वडामा काँग्रेसको सङ्गठन राम्रो भएकाले पनि आकाङ्क्षी धेरै भएका हुन् । आकाङ्क्षी धेरै हुनु स्वाभाविक पनि हो’, उनले भने ।
वडाको टिकट बाँड्ने प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिको संसदीय समितिले सबै पदमा एक जना महिला अनिवार्य सहित तीन जनाको मात्र नाम सिफारिस गर्न अनुरोध गरेको छ । ‘छलफल हुँदैछ । सहमति गरेर सिफारिस पठाउँछौं’, उनले भने ।
म्याग्दे गाउँपालिका–४ मा पनि वडाध्यक्ष बन्नलाई एक दर्जनले पार्टीमा दाबेदारी प्रस्तुत गरेका छन् । म्याग्देको वडा नम्बर १ बाहेक सबै वडामा सम्मेलन सकेर आकाङ्क्षीको सुची तयार पारिएको छ । यहाँको वडा नम्बर ७ मा १० जनाले वडाध्यक्षमा आकाङ्क्षा देखाएका छन् ।
अरू वडामा पनि कम्तीमा तीन जनादेखि एक दर्जनसम्म वडाध्यक्ष बन्ने लाइनमा रहेका नेपाली काँग्रेस म्याग्दे गाउँ कार्य समितिका सचिव गौरवराज रानाले बताए । ‘नेताहरू धेरै हुनुहुन्छ । माथिल्लो तहमा जान नपाएपछि वडामै भए पनि चित्त बुझाउँछौँ भनेर धेरैले आकाङ्क्षा देखाउनु भएको हो’, उनले थप्दै भने, ‘सहमति गर्न खोजे पनि सहमति हुन सकेन । आकाङ्क्षी सबैको नामावली गाउँ कार्य समितिमा सिफारिस गरेर पठाएका छौँ।’
एकाध वडामा भने काँग्रेसले वडा तहका उम्मेदवार सर्वसम्मत टुङ्गो पनि लगाएको छ । शुक्लागण्डकी नगरपालिका–१२ मा वडाध्यक्ष सहित पाँचै जना उम्मेदवार सर्वसम्मत चयन भएका छन् । वडाध्यक्षमा क्याप्टेन गजबहादुर गुरुङ, महिला वडा सदस्यमा रुविना गुरुङ, दलित महिला सदस्यमा अनिता विक, खुलातर्फ पीताम्बर श्रेष्ठ र बुद्धसिंह गुरुङलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको प्रदेश सभा क्षेत्रीय कार्य समितिका सल्लाहकार सुजन कोइरालाले बताए ।
नेपाली काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार जिल्लाका ६० वडामा सम्मेलन सकिएको छ । जिल्लाका १० स्थानीय तहमा ८५ वडा छन् । जिल्ला कार्य समितिले सोमबारसम्म वडा सम्मेलन सकेर आकाङ्क्षीको सिफारिस गाउँ तथा नगर कमिटीमा पठाउन भनिए पनि मङ्गलवार सम्म मात्र सबै वडामा सम्मेलन सकिनेछ ।
वडाध्यक्षलाई दिइने मान सम्मान र तबलका कारण धेरै आकाङ्क्षी भएको खनाल बताउँछन् । ‘सिंह दरबारको अधिकार गाउँमै आएको छ । अधिकार बढी भएकाले पनि होला वडाध्यक्षको आकाङ्क्षी धेरै भएका’, उनले भने । अगाडी थप्दै भने, ‘पहिला सेवा गर्नलाई वडाध्यक्ष बन्ने भनिन्थ्यो । अहिले त जागिर जस्तो पनि भाछ । काम गर्नलाई वडाध्यक्ष पावर फूल पनि भए ।’