नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतमा बिद्युत निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान पुग्ने बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग हैदराबादम हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजनालाई गति दिनका लागि दुवै देशका प्रधानमन्त्री सहमत भएको बताए । बिद्युत निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने माेदीले विश्वास व्यक्त गरे ।
‘नेपालको बिद्युत परियोजनामा भारतीय कम्पनीकाे अझ धेरै भागेदारीका बिषयमा सहमति ब्यक्त गरेका छौं,’ मोदीले भने, ‘अब नेपालले भारतका लागि बिद्युत निर्यात गर्दैछ । यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ ।’
नेपालमा रुपेको कार्डको सुरुवातपछि आर्थिक कनेक्टीभिटीमा नयाँ अध्याय सुरु भएको बताउँदै मोदीले अरु नेपाल प्रहरी प्रतिष्ठान, नेपालगञ्जको एकीकृत चेक पोष्ट र रामायण सर्किटले दुवै देशलाई थप नजिक जोडने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री देउवासँग ब्यापार र क्रस बोर्डर कनेक्टिभिटीलाई प्राथमिकता दिने बिषयमा जोड दिएको उल्लेख गर्दै जयनगर–कुर्था रेललाइनको उदघाटन सुरुवाती मात्रै भएको मोदीले बताए ।