काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा त्यसतर्फ प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ गएका हुन् ।
प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बिदाइ गरेका थिए ।
प्रधानमन्त्री देउवासँग आज ४ः४५ बजे भारतीय विदेश मन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटेल आइटीसीमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
शनिवार स्थानीय समय अनुसार बिहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबिच केही सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ ।
शनिवार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।
प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँ दिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन् ।
Facebook Comments Box