विर्तामोड । संसदमा दर्ता गरिएको संशोधन विधेयकले नेपालीहरुको पहिचान र अस्तित्वलाई सम्बोधन नगर्ने भन्दै संघीय लिम्बुवान पार्टी नेपालले आपत्ति जनाएको छ ।
पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङवाले शुक्रबार झापाको विर्तामोडमा पत्रकार भेटघाट कार्यक्रममा संशोधन विधेयकका विरुद्धमा उनको पार्टी कडा प्रतिबाद गर्ने चेतावनी दिए ।
उनले संशोधन विधेयकको विरोध स्वरुप मंसिर ३० गते लिम्बुवान बन्दको घोषणा गरिएको बताए ।
उनले मधेशी मोर्चाका माग संंवोधन गर्न भन्दै सरकारले ल्याएको संविधान संसोधनको प्रस्तावप्रति गम्भीर आपत्ती रहेको उल्लेख गरे । उनले भने, ‘यो प्रस्ताव अन्यायपूर्ण छ, मधेशी मोर्चाको माग पूरा गर्न भनेर अरुको अधिकार कुण्ठित गर्नु त भएन नि ! ’ अध्यक्ष पालुङ्वाले बन्द शान्तिपूर्ण रहने प्रष्ट पारेका छन् ।
उनका अनुसार अत्याआवश्यक सवारी साधनलाई निर्वाध सञ्चालन गर्न दिइने छ । उनले मुलुकको संघीय संरचना र प्रादेशिक विभाजन पहिचानका आधारमा हुनुपर्ने दलित, आदिवासी, जनजाति आदिको माग सम्बोधन गर्नुपर्ने जस्ता बिषय उठाइएको बताए ।
लिम्बुवान पार्टीका अध्यक्ष पालुङवाले मधेशीको माग सम्बोधन गर्ने तर आदिवासी जनजाति, दलित, उत्पीडित तथा शोषितहरुको माग सम्बोधन नगर्ने विधेयकको कुनै अर्थ नरहेको दाबी गरे ।