काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेको छ ।
चार दिन बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले यस्तो निर्णय गरेको हो ।
बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बहुसंख्याक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई व्यापक बनाउन गठबन्धन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ प्रवक्ता महतले भने, ‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने छ ।’
तर उसले हाल कायम रहेको सत्ता गठबन्धनसँग मात्रै तालमेल गर्नेबारे भने मूर्तरुपमा केही निर्णय गरेको छैन । तर सत्ता गठबन्धन कायम रहेको अवस्थामा गठबन्धनमा रहेका दलहरुबीच तालमेल गरेर अघि बढ्ने स्पष्ट सन्देश कांग्रेसले दिएको छ ।
वामपन्थी पार्टीमा आएको विभाजनका कारण कांग्रेस बलियो अवस्थामा रहेको आकलनकाबीच उसले तालमेलको नीति लिएको हो ।
कांग्रेस बैठक सुरु भएदेखि नै गठबन्धनको बारेमा सर्वाधिक चासो रहेको थियो । नेता शेखर कोइराला समूहले कांग्रेस एक्लै चुनावमा जानु पर्ने बताउँदै आएका थिए भने देउवा पक्षकै कतिपय नेताहरुले गठबन्धनको बिरोध गरिरहेका थिए ।
सात मध्ये कांग्रेसका पाँच प्रदेश प्रमुखले समेत गठबन्धनको विपक्षमा भनाइ रहेका थिए । त्यसका बाबजुद पनि मंगलबार बिहानदेखिको छलफलपछि कांग्रेसले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको हो ।
उसो त वर्तमान सत्ता गठबन्धनमा रहेका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीले चुनावी गठबन्धन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।