बुटवल । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको आरोप लगाएका छन् ।
आफ्नो नेतृत्वको सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला सरकारनै परिवर्तन भएको दावी गरे । आफूपछिको परमादेशका आधारमा बनेको गठबन्धन सरकारले आयोगनै खारेज गरेर भूमिहीनलाई बेघरबार बनाएको ओलीको भनाइ छ । उनले गठबन्धन सरकारले अनेक बहाना खोज्न अघिल्लो सरकारमाथि भूमिहीनको फाइल लुकाएको आरोप लगाएको पनि दावी गरे ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगर वन वाटिकामा निर्माण भएको बहुउद्देश्यीय भ्यु टावरको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । ‘आयोग खारेज गरेर पुर्जा वितरणको लागि मैले ठिक्क पारेको फाइल यो सरकारले लुकाएको छ,’ उनले भने । एमाले अध्यक्ष ओलीले लुकाइएको फाइल खोज्न प्रधानमन्त्री देउवा दिल्ली जान लागेको टिप्पणी पनि गरेका छन् ।
‘अहिले उहाँहरू अघिल्लो सरकारले फाइल लुकाएको भन्दै हिंड्नु भएको छ, अब प्रधानमन्त्री देउवा फाइल खोज्न दिल्ली जाँदै हुनुहुन्छ,’ उनले भने ।
अध्यक्ष ओलीले गएको चुनावपछि बनेको सरकारले आफ्नो साढे तीनवर्षे कार्यकालमा मानवीय चेतनाको विकासमा महत्वपूर्ण फड्को मारेको दावी पनि गरे ।
‘चेतनामा आएको विकासले भौतिक विकास हुन्छ, हाम्रो नेतृत्वमा सरकार बन्दैनथ्यो भने विकास सम्भव थिएन,’ उनले भने । अघिल्लो सरकारले अन्तरिक्षमा आफ्नो स्पेस र समुन्द्रमा नेपालको अधिकारसमेत स्थापित गर्न सफल भएको बताए ।
उनले मुलुकको कृषि प्रणाली आयातमुखी बन्दै गएको भन्दै यो प्रवृत्ति हटाउन सबै लाग्नु पर्ने बताए । ‘सबै आयातित वस्तुको प्रयोग गर्ने बानी हटाउन सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ, यसका लागि खाद्यान्नमा आत्मनिर्भर बन्न जरुरी छ,’ ओलीले भने ।