झापा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्णायक वा प्रमुख पदमा महिला उम्मेद्वारीको माग राख्दै झापा अर्जुनधारा नगरपालिकाका महिलाहरूले विभिन्न राजनीतिक दलका नगर नेतृत्वलाई ज्ञापन पत्र बुझाएका छन् ।

बिहीबार झापाको विर्तामोडमा आयोजित शी लिड्स -मध्यवर्ती प्रशिक्षक कार्यक्रममा उनीहरूले राजनीतिक दलका नगर नेतृत्वलाई ज्ञापन पत्र बुझाएका हुन्।
अर्जुनधारा नगरसभा र कार्यपालिका सदस्य गरी २२ महिलाहरुले नेपाली कांग्रेसका नगर उपसभापति भेषराज भण्डारी ‘प्रशान्त’, नेकपा एमाले नगर उपाध्यक्ष लोकमान श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष अर्जुन मेचेले ज्ञापन पत्र ग्रहण गरेका थिए।

ज्ञापन पत्र ग्रहण गर्दै उनीहरुले निर्णायक तथा प्रमुख पदमा महिलाको उम्मेद्वारी दिने प्रतिवद्धता व्यक्त गरे।
दलित महिला केन्द्र नेपालको आयोजना, इन्टरनेशनल फाउण्डेसन फर इलेक्ट्रोकल सिस्टमको प्राविधिक सहयोग तथा स्वीस सरकार विकास सहयोग एसडीसी र अष्ट्रेलियन एडको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
प्रदेश नम्बर १ का झापा, मोरङ, सुनसरी, खोटाङ र ओखलढुङ्गा गरि पाँचवटा जिल्लामा महिला नेतृत्वमा क्षमता विकास गर्ने कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

झापाको विर्तामोड, अर्जुनधारा, शिवसताक्षी, दमक, बुद्धशान्ति, कमल गरि छ वडा पालिकाहरुमा कार्यक्रम गरिने तालिमका मुख्य प्रशिक्षक सोमराज ढकालले जानकारी दिए ।
चैत २ र ३ गते भएको तालिमको सभापतित्व अर्जुनधारा नगरपालिका वडा नम्बर ५ की वडासदस्य देवीकुमारी घिमिरेले गरेकी थिइन्।
तालिम शी लिड्सका मुख्य प्रशिक्षक सोमराज ढकाल र नविना सापकोटाले प्रशिक्षण प्रदान गरेका थिए।