काठमाडौं । स्वास्थ्य मापदण्ड अपनाउँदै होली पर्व मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन्।
होलीको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान भएको बताएका छन्।
प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रह गरेका हुन्।
समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने देउवाले विश्वास व्यक्त गरेका छन्।
Facebook Comments Box