काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको चुनावमा नेकपा (एमाले)सँग सहकार्य गर्ने सम्भावना रहेको बताएका छन्।
बुधबार राप्रपा नेपालका जिल्ला अध्यक्ष एवम् पदाधिकारीको भर्चुअल माध्यममा बसेको संयुक्त बैठकमा बोल्दै थापाले एमालेसँग चुनावी तालमेल गर्न सकिने सम्भावना फराकिलो रहेको बताए।
चुनावी तालमेलका लागि स्थानीय तहबाट सुरु गर्नुपर्ने उनको भनाइ छ। थापाले एउटै पार्टीसँग तालमेल गर्नुपर्नेमा जोड दिए। एमालेसँग तालमेलको सम्भावना बढी रहेको उनको भनाइ छ। सहकार्यका लागि केन्द्रबाट सहजीकरण हुने विश्वास थापाको छ।
‘एमालेसँग व्यत्तिगत सम्बन्ध पनि राम्रो छ। वैचारिक दृष्टिकोणले पनि एमाले राष्ट्रवादी कित्तामा सशक्त छ’, अध्यक्ष थापाले भने। उम्मेदवारी छनोटलाई पनि अगाडि बढाउनुपर्ने र आवश्यक तालमेलका लागि तयारीमा जुट्नसमेत उनले बताए।
जिल्ला कार्य समितिलाई पूर्णता दिने, भातृ संगठन विस्तारलाई सक्रियता दिइनुपर्ने उनको भनाइ छ। पार्टी अहिले कठिन र प्रतिकूल अवस्थामा रहेकोले पनि यसलाई देशको महत्वपूर्ण शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा थापाको जोड छ।