काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको आगामी निर्वाचनमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गरे।
ओलीले एमालेलाई निर्वाचन जित्नका लागि कसैको वैशाखी टेक्नु नपर्ने बताउँदै आफूहरू प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा रहेकाले प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गरे ।
‘हामीले यसको बैशाखी टेक्नुपर्छ, यो ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिड्न सक्छौँ भन्ने होइन, हामी हिड्न, अगाडी बढ्न, चुनाव लड्न र मज्जाले जित्न सक्छौं, हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्न सक्छौं,’ उनले भने, ‘सिटको हिसाबले, पालिकाको हिसाबले, अनेक हिसाबले पनि ६० देखि ७० प्रतिशत हामी एक्लै जित्न सक्छौं, त्यस अनुसारको तयारी गरौं ।’