धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेससहभागी हुने विषयमा छलफल भइरहेकाे बताएका छन् ।
पार्टीकाे प्रशिक्षण कार्यक्रमका लागि आज बिहानै धनगढी आइपुगेका प्रचण्डले गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश।सरकारमा कांग्रेस समेत सहभागी हुने विषयमा गठबन्धनका दलहरुबीच कुराकानी भइरहेकाे बताएका हुन ।
“गठबन्धनमा याे विषयमा छलफल भएकाे छ ।” उनले भने, “कांग्रेसकाे सहभागिता प्रदेश सरकारमा छैन, याे विषयमा बैठकमा कुरा भयाे । तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकाेले सबैभन्दा बढी मन्त्री भएकाे एकीकृत समाजवादीले नै त्याग गर्नुपर्याे भनेर अनुराेध गरिएकाे छ ।”
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा याे विषयमा छलफल गर्ने बताएकाे समेत प्रचण्डले जनाए ।
प्रदेश सरकारकाे नेतृत्व फेर्ने विषयमा समेत गठबन्धनमा छलफल भएकाे उनले बताए । “माधवजीहरुले ठूलाे दलकाे हैसियतमा प्रदेशकाे नेतृत्व उनीहरुलाई दिनुपर्ने कुरा गरेका छन् ।” प्रचण्डले भने, “तर त्याे हाे भने हामी सबैभन्दा बढी भएकाे बाग्मति हामीलाई दिने गराैैं भनेर हामीले कुरा गरेपछि अहिले नेतृत्व नफेर्ने कुरा भएकाे छ ।”
अध्यक्ष प्रचण्डले गठबन्धनले सल्लाह गरेर कांग्रेसलाई भने सरकारमा सहभागी गराउने वातावरण बनाइने बताए ।