काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमिलाई लिएर फेरि विवादित अभिव्यक्ति दिएका छन् ।
सरकारको नेतृत्वमा रहँदा रामको जन्मभूमि नेपालको चितवनस्थित ठोरीमा रहेको दाबी गर्दै मूर्तिसमेत खडा गराइसकेका ओलीले शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा राम जन्मभूमिको मात्र होइन, उनको बाबुको नाम पनि नेमी रहेको बताए । उनले नेमी नाम कसरी दशरथ भयो भन्ने कथा नै सुनाए ।
‘रामका बा (बाबु) नेमी भन्ने माडीको छेउमा थिए । वीरगन्जभन्दा करिब–करिब ६० किलोमिटर पश्चिम होला, माडी अथवा ठोरीमा । अहिलेको माडी र ठोरीको बीच–बीचमा पर्छ, त्यो । पहिलेको ठोरी नै हो, त्यो ठाउँ । त्यहाँ रामको जन्म भएको थियो र त्यसबेला त्यहाँको राजाको नाम थियो नेमी,’ उनले भने, ‘जसले ४२ सय वर्षअघि मेसोपोटामियामा आविष्कार भएको गाडा नेपालमा ४० सय वर्षअगाडि ल्याए र त्यसलाई घोडा लगाएर १० वटा रथ बनाए ।
१० वटा रथ बनाएकै कारणले गर्दा नेमीको नाम दशरथ रह्यो ।’ ओलीले त्रेता युग भएपछि विकास भएको पनि उल्लेख गरे । ‘सत्य युग भनेको एकदम पछाडि परेको जमाना हो, त्यसपछि त्रेता युगमा थौरै विकास (भयो),’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ।