झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सिद्दिने ग्रह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनामै बोकेर आएको बताएका छन्।
प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशन शनिबार उद्घाटन गर्दै ओलीले एमसीसी संसदबाट पारित भइसकेपछि प्रचण्डले दिएका प्रतिक्रियाप्रति ब्यंग्य गर्दै प्रचण्डले सिद्दिने उनले चिनामै बोकेर आएको बताएका हुन्।
ओलीले भने, ‘एमसीसी पास गर्नै नहुने हो तर एमालेले सिध्याउने भो भनेर प्रचण्डजीका कुरा सुन्छु। कहाँ एमालेले सिध्याउनू, उनले चिनामै त्यस्तो बोकेर आएका छन्, त म के गरौं।’
प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक थियो र त्यसका पक्षमा मत दियौं भन्न नसकिरहेको ओलीको दाबी थियो।
माओवादी केन्द्र भन्ने पार्टी अब केही दिनमा सकिने ओलीले दाबी गरे। उनले भने, ‘मैले २०५६ सालमा भनेको थिएँ, माओवादी केन्द्र सकिन्छ भनेर। अब त्यो आयो।’
केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको ओलीको भनाइ थियो।
उनले भने, ‘अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’ उनले माओवादी केन्द्र सकिनै पर्ने बताए।
ओलीले माओवादी केन्द्रलाई मात्र नभएर एकीकृत समाजवादीप्रति पनि कटाक्ष गरे। उनले भने, ‘माधव नेपालको पार्टी त बनेकै छैन। बन्दै नबनी सकिन्छ।’