काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई ‘महाहिरो’ बन्न सुझाव दिएका छन्।
पार्टी अध्यक्ष ओलीले मंगलबार भीम रावल पार्टी हिरो बन्न खोजेको टिप्पणी गरेपछि उनले त्यसको जवाफ फर्काएका हुन्।
ओलीले भीम रावल पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक् ढंगले आफूलाई प्रस्तुत गरिरहेको भन्दै आलोचना गरेका थिए।
तर, नेता रावलले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरूप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैँ देशको पक्षमा बोलेर ‘महाहिरो’ हुन आग्रह गरेका छन्।
ओलीलाई जवाफ फर्काउँदै उनले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया।’