काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीति लिकबाट बाहिर गएको बताएका छन्।
प्रतिनिधि सभाबाट एमसीसी पारित भएपछि पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा ओलीले राष्ट्रिय महत्वको विषयमा प्रमुख प्रतिपक्षी दललाई प्रक्रियाबाट बाहिर राखिएकोमा सरकारप्रति आक्रोस पोखे।
उनले बिक्री गर्न खोजिएको घीनलाग्दा खेलको पटाक्षेप भएको तर्क गरे। ओलीले भने, ‘अवसरवादी छेपारेपनका कारण हामीलाई एमसीसी पारित गर्ने प्रक्रियाबाट बाहिर राखियो।’
राष्ट्रिय महत्वको विषयमा सबै दललाई एकमत पार्ने काममा प्रधानमन्त्री शेरबहादुर देउवा चुकेको ओलीले बताए।
संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको ओलीले बताए ।
मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उनको भनाइ थियो ।
यद्यपि, यही घोषणालाई समातेर नेतृत्वमा रहेकाहरूलाई समात्न सकिने बाटो भने बनेको उनले बताए ।
उनले भने, ‘संसदबाटै एमसीसी पास भइसकेकाले अब यसलाई राष्ट्रहित विपरित नहुने गरि, स्वाधिनताको विपरित नहुने गरि, सार्वभौव नेपालीको स्वतन्त्रमा कुनै चोट नपुग्ने गरि कार्यान्वयनमा लैजानु पर्छ।’