काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र उनको अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका छन्।
शुक्रबार एक कार्यक्रमकाबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शाही र उनको अभियानलाई राप्रपामा समाहित गरेका हुन्।
काठमाडौंमा आयोजित कार्यक्रममा ज्ञानेन्द्र शाही नेतृत्वको सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानलाई राप्रपामा स्वागत गर्दै अध्यक्ष लिङ्देनले यथास्थितिको निरन्तरता चाहने र यथास्थितिमा परिवर्तन चाहने शक्तिका बीच ध्रुवीकरण आवश्यक रहेको बताए।
पार्टी अध्यक्ष लिङ्देनले भने, ‘स्वार्थीहरु छोडेर जान सक्छन्, अन्य पार्टीका देशभक्तहरु राप्रपामा आउनुस्, देशमा ध्रुवीकरण शुरु भयो।’

राप्रपाको सदस्य भएर कसैले पश्चाताप वा हिनताबोध गर्नु नपर्ने बताउँदै लिङ्देनले राप्रपालाई वैकल्पिक होइन राष्ट्रको मुल शक्ति बनाउन सकिने दाबी गरे।
कार्यक्रममा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक शाहीले अभियानलाई औपचारिक रुपमा राप्रपा समाहित गरेको घोषणा गरे।
शाहीले देशका तमाम मुद्दा बोकेर सडकमा कराउँदा पनि राज्य संयन्त्रले दबाब महशुस नगरेको र सुनुवाइ नभएको भन्दै राजनीति शुद्धीकरण गर्दै उद्देश्य प्राप्तिका लागि राप्रपामा समाहित भएको बताए।