यस अघिका झापाका प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवाली बढुवा भएर जान लाग्दा प्रहरी तालिम केन्द्रबाट एकजना मित्रले फोन गर्नुभो । झापामा प्रहरी प्रमुखका रुपमा अब तालिम केन्द्रबाट एसपी शैलेष थापा क्षेत्री आउँदै हुनुहुन्छ भन्ने थाह पाएँ । मैले उहाँका बारेमा केही कुरा जान्ने मौका उहाँ आउनुभन्दा केही समय अघि नै पाइसकेको थिएँ ।
एक जना मित्रले भनेका थिए ‘एसपी थापा एकजना यस्तो प्रहरी अधिकारी हुन् जो प्रहरी सेवामा निष्ठाका पर्याय हुन् ।’ एसपी थापा झापा आइसकेपछि इलाका प्रहरी काँकरभिट्टामा एउटा अन्तरक्रिया कार्यक्रममा उहाँसंगको पहिलो भेटले म जस्ता धेरैलाई प्रभावित बनायो ।
कार्यक्रम सकिएपछि खाना खानेबेलामा उहाँले काँकरभिट्टामा कार्यरत प्रहरीहरुलाई सोध्नुभो ‘तिमीहरु यस्तै खाना खान्छौ दिनहुँ ?’ मैले जिज्ञासा राखें ‘किन ? के भो र !’ उहाँको स्पस्ट जवाफ थियो ‘म आम प्रहरीले जस्तो खाना खान्छन्, त्यस्तै खान्छु । काम गर्ने प्रकृति एउटै हो । यति हो दर्जा अनुसार राज्यले सुविधा अलग अलग दिएको छ ।’
बुझ्ने जान्नेका लागि यति वार्तालाप नै काफी छ । उनले अन्तरक्रिया कार्यक्रममा भनेका थिए ‘तपाईंहरुलाई जतिबेला प्रहरी चाहिन्छ, मेरो मोबाइलमा २४ घन्टामा जति बेला पनि सम्पर्क गर्नुहोला । तर कानून मिच्ने कुरामा मलाई दबाब नदिनु होला ।’ मलाई अहिलेसम्म जतिजनाले भने, कसैले पनि एसपी साबको मोबाइल उठेन भनेर गुनासो गरेका छैनन् ।
गएको दसैंका बेला केही प्रहरी कार्यालयका प्रमुखको निद्रा समेत हराम भएको गाईंगुईं सुन्नमा आयो । कारण रहेछ, दसैं भोज खसी उपहार । कसैले दिए, लिए । तर एसपी साबले थाह पाएपछि त्यो खसीको मासु न निल्नु न ओकल्नुसमेतको परिस्थितिमा ति कार्यालयका प्रमुखहरु पुगेको कुरा पनि गाईंगुईं सुनिएकै हो । केहीको कार्वाही समेत भएको पनि अपुस्ट कुरा सुनियो ।
तर स्थानीय अखबारहरुमा अहिले चर्चाको विषय बनेको छ, एसपीले उपहार स्वीकार नगर्दा सरुवा गर्ने चलखेल भन्ने । निस्ठाका साथ काम गर्ने एकजना प्रहरी अधिकारीमाथि त्यस्तो हरकत हुन्छ र सरकार त्यही कारणले उहाँको सरुवा गर्न तिर लाग्छ भने यो सरकार सर्वसाधारणको शान्ति सुरक्षाका लागि होइन भन्ने कुरा प्रस्ट हुन्छ ।
एसपी साब, छोटो समयमा तपाईंले देखाएको इमान्दारीले सर्वसाधारण अत्यन्तै प्रभावित छन् । कतिपय राम्रो काम गर्ने प्रहरी अधिकारी मिडिया प्रेमी पनि छन् । तर तपाईंमा त्यो पनि मैले पाइन । कतिपय प्रहरी अधिकारीहरुले ‘त्यो समाचार रोकिदिनु पर्यो, बरु कतै भेटौं न’ भन्ने गरेका उदाहरणहरु प्रशस्तै छन् । तर ‘समाचार आइदिए मलाई कार्वाही गर्न सजिलो हुन्छ’ भन्ने जस्ता तपाईंका अभिव्यक्तिले तपाईं कर्तब्यनिस्ठ प्रहरी अधिकारी हो भन्ने कुरा प्रस्ट छ ।
मलाई थाह छ, मैले लेखेका कुरा तपाईंलाई मन पर्दैन । तपाईं मिडियामा छाउन चाहनुहुन्न । तर स्थानीय पत्रपत्रिकामा आएका कुराले मैले नलेखी रहन सकिन । सरुवा भयो भने पनि तपाईं नेपाल भित्रै रहनुहुनेछ । बरु, तपाईं जहाँ जानुहुन्छ, त्यहाँ तपाईंका मातहतमा रहेका अन्य प्रहरी साथीहरुलाई तपाईंको संस्कार सिकाइदिनुहोस् ।
सरुवाको समय भएपछि त अन्यत्र जानै पर्छ, अहिले भइरहेको चर्चाको कारणले होइन । तपाईंको खाँचो देशलाई नै छ ।